वाइफाइको रिचार्ज सकिएको विषयमा विवाद हुँदा बारामा श्रीमनले गरे श्रीमतीको हत्या

काठमाण्डु टुडे २०८१ भदौ २६ गते १२:३३ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– बारामा एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन । बचाउन गएका दुई छोरीलाई समेत उनले घाइते पारेका छन ।

बाराको निजगढ नगरपालिका–९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन ।

आमालाई बचाउन गएकी उनकी जेठी छोरी १८ वर्षीया गंगा र १५ वर्षीया जमुना घाइते भएको डीएसपी सापकोटाले जानकारी दिएका छन । जेठी छोरी गंगाको अवस्था गम्भीर छ ।

उनलाई थप उपचारको लागि काठमाण्डु पठाइएको पनि प्रहरीले जानकारी दिएको छ । मंगलबार साँझ साढे ७ बजेतिर श्रीमान् विमलकुमार मादकपदार्थ सेवन गरी आएपछि वाइफाइको रिचार्ज सकिएको विषयमा विवाद भएको खुलेको डीएसपी सापकोटाले जानकारी दिए ।

चारदिनदेखि घरको वाइफाइमा रिचार्ज सकिएको थियो । श्रीमतीले रक्सी खान पैसा हुने, वाइफाइमा रिचार्ज गर्न नहुने भनेपछि सुरु भएको विवादका क्रममा विमलले जथाभावी खुर्पा प्रहारेका थिए ।

त्यसक्रममा छोरीहरु बचाउन जाँदा खुर्पा प्रहारबाट उनीहरु पनि घाइते भएको डिएसपी सापकोटाले जानकारी दिए । श्रीमान् विमललाई पक्राउ गरी घटना विषयमा थप अनुसन्धान गरिरहेको डीएसपी सापकोटाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us