काठमाण्डु, ६ वैशाख– एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सचिवालयमा पेस गरेको संकल्प प्रस्ताव आजको प्रदेशसभामा टेबुल भएको छ ।
प्रदेशसभाको आज बसेको बैठकमा उक्त प्रस्ताव टेबुल भएको हो । संकल्प प्रस्तावक रहेका एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले छलफलका लागि प्रदेशसभामा टेबुल गराएका थिए ।
उक्त प्रस्तावमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले समर्थन गरेका छन । यसैबिच प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाको ६ र जसपाको १ गरी ६० सांसद रहेको दल विपक्षी बेन्चमा बसेका छन् । ९३ सदस्यीय प्रदेशसभामा कांग्रेसका २९ र नेकपा (एकीकृत समाजवादी) का ४ सांसद रहेका छन ।
आजको प्रदेश सभाको बैठकमा दुई दल मात्रै सत्ता पक्षको बेन्चमा बसेका छन् । प्रदेशसभाको आजको बैठकमा भने सत्तापक्षमा २४ जना सांसद मात्रै उपस्थित छन् ।
विपक्षमा भने ५३ जनाको उपस्थिति छ । यसैबिच प्रदेशसभाको बैठकमा सत्ता पक्षका ९ र विपक्षका ५ सांसद अनुपस्थित रहेका छन ।