
सुर्खेत, २२ भदौ– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका ठूला भनिएका सबै दलका नेता आर्थिक अनियमितता र प्रभष्टाचार प्रकरणमा मुछिएको आरोप लगाएका छन् ।
सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग शुक्रबार उनले कुनै पनि ठूला दल भ्रष्टाचारबाट अछुतो नहरेको बताए । तर, राप्रपा कतैपनि भ्रष्टाचारमा नमुछिएको जिकिर उनको थियो । भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र दल राप्रपा भएको दाबी उनले गरे ।
भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो भन्ने आफ्नो भनाइ व्यवहारमा लागू गरेको लिङदेनले उल्लेख गरे ।
‘राजनीतिमा आफूलाई ठूला दल भनेर दाबी गर्नेहरु सबै विभिन्न खालका काण्डमा मुछिँदै गइरहेका छन् । कसैले पनि शीर ठाडो पारेर भ्रष्टाचारका विरुद्धमा बोल्न सक्ने अवस्था छैन’, उनले भने, ‘तर हाम्रो पार्टी र यस पार्टीमा आबद्ध नेता तथा कार्यकर्ता कुनै पनि काण्ड र आर्थिक अनियमिततासँग मुछिएका छैनन् । यो हाम्रो लागि गौरबको विषय हो ।’
उनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध चालेको कदम देखावटी मात्र रहेको आरोप लगाए । सरकारले भ्रष्टाचारविरुद्ध चालेका हरेक कदमप्रति राप्रपाको समर्थन रहे पनि छानबिन गर्दा राजनीतिक पूर्वाग्रह नराख्न सरकारलाई आग्रह गरे ।
‘कसैलाई सिध्याउन,कसैसँग रिस पोख्न आदेश दिने, मन परेको मान्छे जोगाउने र मन नपर्ने मान्छे फसाउने मनसायले गरिएका कदमप्रति भने हाम्रो असहमति छ’, उनले भने । फरक प्रसंगमा उनले कोशी प्रदेशको सरकार टिकाउन सत्ता पक्षसँग कुनै सहमति नभएको दाबी गरे ।