
बाजुरा, २१ भदौ– बाजुरामा एक महिला घरभित्रै मृत फेला परेकी छन् ।
बुढीनन्दा नगरपालिका–१० पाण्डुसैनकी जयपुरा शाही आफ्नै घरमा मृत फेला परेको प्रहरीले जनाएको छ । बुधबारदेखि नै घरबाहिर नदेखिएपछि गाउँलेले प्रहरीमा खबर गरेका थिए ।
प्रहरीले ढोका खोलेर हेर्दा घाँटीमा डोरीले झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन । घरमा लुटपाटपछि हत्या भएको दाबी गाउँलेको छ । शाही समयदेखि एक्लै माइत बस्दै आएकी थिइन् ।
मुगु नखर्चीमा विवाह भएकी शाही श्रीमानले दोस्रो विवाह गरेपछि माइतै बस्दै आएकी थिइन् । शाहीको शव पोष्टमार्टमका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
यसैबीच आफन्तले हत्या भएको भन्दै जाहेरी दिएका छन् । बाजुरा प्रहरी प्रमुख डिएसपी कवेन्द्र बोहराले घटना शंकास्पद रहेको बताए । उनले घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए ।