
काठमाण्डु, २१ भदौ– एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकाबाट सिधै चीन नजान सुझाव दिएको छ ।
एमाले सांसद रघुजी पन्तले बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै अमेरिकाबाट सिधै चीन जानु उपयुक्त नहुने बताए । अर्को देशबाट चीन जाँदा भ्रमणले कम महत्व पाउने तर्क उनको भनाइ थियो । एमालेले अमेरिकाभन्दा चीन भ्रमणलाई महत्व दिनुपर्ने पनि दाबी गरेको छ ।
‘संयुक्त राष्ट्रसंघ प्राथमिकता हो कि चीन भ्रमण ? मलाई लाग्छ चीन भ्रमण प्राथमिकता हो’ उनले भने । अर्को देशबाट जाँदा त्यसको प्रभाव कम हुनसक्छ । यो विषयमा ध्यानाकृष्ट होस् ।’
पन्तले चीन भ्रमणका एजेण्डा र प्राथमिकताबारे संसदमा छलफलको माग गरे । अमेरिका र चीन जानु अगाडि संसदमा भ्रमणको प्राथमिकताबारे सदनलाई जानकारी गराउन उनको माग थियो । प्रचण्ड संयुक्त राष्ट्रसंघीय महासभमा भाग लिन भदौ अन्तिम साता न्यूयोर्क जाँदैछन् । उतैबाट प्रधानमन्त्री चीनको औपचारिक भ्रमणमा जाने तयारी छ ।
यस्तै एमालेले विभिन्न नाका खोल्ने र विद्युत व्यापार सम्झौतालगायत विषयलाई चीन भ्रमणको प्राथमिकतामा राख्न सुझाएको छ । भारतलाई १० हजार मेगावाट विद्युत बेच्ने सहमति भएको चर्चा गर्दै पन्तले चीनलाई विद्युत् बेच्ने विषय भ्रमणको एजेण्डा बन्नुपर्ने बताए ।