
काठमाण्डु, १५ जेठ– कर्णाली प्रदेशमा गणतन्त्र दिवशको अवसरमा दलका नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रामक अभिव्यक्ति व्यक्त गरेका छन ।
गत शनिबार कर्णालीको राजधानी सुर्खेतमा नागरिक अभिनन्दन गरिएका पूर्वराजा शाहले मन्तव्यका क्रममा पछिल्लो दुई दशकको शासन व्यवस्था सही र सार्थक नभएको बताएका थिए ।
आज (सोमबार) सुर्खेतमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको गणतन्त्र दिवश समारोहमा दलका नेताहरुले पूर्वराजाले जनता जिस्क्याएको र सक्रिय राजनीति गर्न खोजेको भन्दै आलोचना गरेका छन ।
प्रदेश प्रमुख तिलक परियारले गणतन्त्रको जगमा प्राप्त अधिकारको रक्षा, प्रयोग र थप विकास गर्दे अघि बढ्नु आजको आवश्यकता भएको बताएका छन । यस्तै मुख्यमन्त्री राजकुमार शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहतर्फ लक्षित गर्दै गणतन्त्रमाथि धावा बोल्नेलाई डाँडा कटाउने चेतावनि दिएका छन ।
उनले भने, ‘यो व्यवस्था दशकौं लामो संघर्षको जगबाट आएकाले हो, डाँडो कटाउन नपरोस् । जनतालाई जिस्काउने काम कसैले नगरोस्’ । यस्तै कांग्रेस नेता जीवनबहादुर शाहीले पनि कुनै हालतमा राजतन्त्र फर्कन नसक्ने बताएका छन । उनले गणतन्त्रमाथि जतिसुकै प्रश्न उठे पनि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने दाबी गरेका छन ।
उनले भने, ‘उँधो बगिरहेको कर्णालीमाथि फर्किन्न । यो व्यवस्थालाई बलियो बनायो अग्रसर हुनुपर्छ ।’ एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बन्न आग्रह गरेका छन ।
शनिबार पूर्व राजा शाह वीरेन्द्रनगरमा आएर गरेको सम्बोधनलाई प्रतिवाद गर्दै कँडेलले भने, ‘पूर्वराजा पार्टीको अध्यक्ष बनेर बस्दा राम्रो हुन्छ । राप्रपालाई आफ्नै पार्टीको अध्यक्ष बनाएर हिँड्न आग्रह गर्दछु ।’ कँडेलले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन ।