जापानी प्रधानमन्त्रीमाथि आक्रमणको प्रयास

काठमाण्डु टुडे २०८० वैशाख २ गते १२:११ मा प्रकाशित

एजेन्सी– जपानका प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको छ । वाकायामा आयोजित एक चुनाबी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो तथा प्रसारण संस्था एनएचकेले जानकारी दिएको छ ।

प्रधानमन्त्रीमाथि कुनै चोटपटक नलागेको तथा उनीलाई सुरक्षितरूपमा सकुशल कार्यक्रमस्थलबाट निकालिएको एनएचकेले जानकारी दिएको छ ।

प्रतिनिधिसभाको उपनिर्वाचनको समर्थन गर्ने कार्यक्रममा मन्तव्य व्यक्त गर्न मञ्चमा पुग्न लागेका प्रधानमन्त्रीमाथि आक्रमण प्रयास गरीएको हो ।

आक्रमणको आशङ्कामा प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ । यद्यपि प्रहरीले यसलाई पुष्टि गरे पनि थप जानकारी भने दिएको छैन ।

एक युवकले प्रधानमन्त्रीलाई लक्ष्य गर्दै केही फ्याकेको देखेको तथा केही क्षण मै धुँवाको मुस्लो ठूलो आवाजमा त्यो वस्तु विष्फोट भएको एक जना प्रत्यक्षदर्शीले जानकारी दिएका छन ।

बम विष्फोटपछि कार्यक्रमस्थलबाट सर्वसाधारण भागेका दृश्य एनएचकेको प्रसारणमा देखीएको छ । प्रधानमन्त्री किशिदाको लिबरल डेमोक्र्याटिक पार्टीका सदस्य हिरोशी मोरियामाले लोकतन्त्रको आधारस्तम्भ सुदृढ बनाउने चुनावी अभियानमा यस्ता घटना हुनु खेदजनक भएको बताउँदै त्यसलाई उनले अक्षम्य अपराध भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us