बैतडी दुर्घटनाका पीडितलाई क्षतिपूर्ति व्‍यवस्था गर्न सांसद जोशीको माग

काठमाण्डु टुडे २०७९ चैत २९ गते १४:२७ मा प्रकाशित

काठमाण्डु,२९ चैत– नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले बैतडीको झौंखेलमा जीप दुर्घटनामा परी आफन्त गुमाएका पीडितहरुका लागि तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन ।

आज (बुधबार) प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै उनले यस्तो बताएका हुन । उनले रोजगारीका लागि भारतमा गएका बझाङका मजदुरहरु सवार सो जीप दुर्घटनामा परी ६ जनाको ज्यान गएको उल्लेख गर्दै पीडितलाई तत्काल क्षतिपूर्तिको उचित व्यवस्था गर्न आग्रह गरेका छन ।

२८ चैत्रमा जीप दुर्घटना भएको थियो । सम्बन्धित पक्षले उचित क्षतिपूर्ति नदिएपछि पीडित पक्षले अहिले शव समेत बुझेका छैनन् ।

सांसद जोशीले सो समस्या तत्काल समाधान गरी पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकार सँग आग्रह गरेका हुन । उनले भने, ‘हिजो २८ गते बेलुकी बझाङ जिल्लाबाट भारतमा रोजगारी गर्न गएका मजदुरहरु भारतबाट नेपाल फर्कदै गर्दा बझाङबासी दाजुभाईहरु जीप बैतडी जिल्लाको झौखेलमा दुर्घटना हुँदा दुर्घटनामा ६ जना मानिसहरुको घटनास्थलमै मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

असाध्यै ठूलो विभत्स घटना भएको छ सभामुख महोदय ।अहिले पनि पीडित पक्षले आफूलाई न्याय पाउनका लागि क्षतिपूर्ति पाउनका लागि बाटोघाटो बन्द गरेर बसेका छन्’ ‘लासहरु बैतडी जिल्लाको पाटनमा लिएर राखिएका छन् ।

त्यसो भएको हुनाले म गृह मन्त्रालयमार्फत् उनीहरुको उचित क्षतिपूर्तिको व्यवस्थासहित यो दुखद घटनाको समाधानका लागि तत्काल गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us