
काठमाण्डु,२८ चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलको सहमतिमा संक्रमणकालीन न्याय टुंग्याउने तयारी गरिएको बताएका छन ।
आज (मंगलबार) नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । प्रचण्डले सबै दल मिलेर संक्रमणकालीन न्याय टुंग्याउन लागिएको बताएका छन ।
मंगलबार सभामुख निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली सहित अरु शीर्ष दलका नेताहरु संक्रमणकालीन न्यायका विषयमा छलफल गरेका थिए ।
बालुवाटार छलफलपछि माओवादी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले वैशाख १ गते शीर्ष तहमा छलफल गरेर संक्रमणकालीन न्यायका विषयमा समझदारी गरेर जाने तयारी भएको बताएका छन ।
प्रचण्डले विवाद र असमझदारीबाट शान्ति प्रक्रिया टुंगो लगाउन गाह्रो हुने बताएको माओवादी एक सांसदले जानकारी दिएका छन । ‘संक्रमणकालीन न्याय सकेसम्म सहमतिमा टुंगो लगाउने तयारी छ ।
विवाद र असमझदारीबाट टुंगो लगाउन गाह्रो हुन्छ । सबै दलको सहमतिमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनु पर्छ’ प्रचण्डको भनाई उल्लेख गर्दै ती सांसदले भने, ‘संक्रमणकालीन न्याय माओवादीको मात्रै होइन यो राज्यको समेत दायित्व हो ।
त्यसैले सबै राजनीतिक सहमतिमा शान्ति प्रक्रिया टुगोमा पु¥याउनुपर्छ ।’ जनयुद्धकालीन मुद्दा टुंगो लगाउने विषयमा पार्टीका नेताहरुले समेत रचनात्मक रुपमा भूमिका खेल्नुपर्ने प्रचण्डले बताएका थिए ।