
काठमाण्डु,२७ चैत– आज एकैदिन कोरोना संक्रमितको संख्या सय नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार २ हजार ५६६ नमुनामध्ये ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र १ हजार ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जना गरी १२४ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४४ पुगेको मन्त्रालयले जानकारी दिएको छ । काठमाण्डु उपत्यकामा संस्थागत आइसोलेसनमा २१ जना रहेका छन् भने आईसीयूमा १० जना उपचाररत र ४ जना भेन्टिलेटरमा उपचाररत रहेका छन ।
सोमबार २९ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन सबैलाई आग्रह गरेको छ ।