
काठमाण्डु, ३ चैत– प्रधानमन्त्री केपी ओलीले माधव नेपाल समूहको भेलामा सहभागी हुने नेता कार्यकर्तामाथि कारबाही गर्ने भएका छन् ।
सरकारी निवास बालुवाटारमा आयोजित ओली समूहको चियापानमा उनले गुटगत भेलामा सहभागी हुनेमाथि विधानअनुसार कारबाही हुने चेतावनी दिए । उनले गुटका भेलामा सहभागी नहुन देशभरका कार्यकर्तालाई निर्देशन दिए । ओलीले अराजकता, अनुशासनहीनता र एकताविरोधी तथा पार्टीलाई पार्टीका रुपमा सञ्चालन गर्न नदिने क्रियाकलाप सह्य नहुने चेतावनी दिए ।
‘केही मानिसहरुले भेला आयोजना गर्दैछन्, प्रतिवेदन पास गर्दैछन् भन्ने सुनेको छु’, ओलीले भने, ‘अनुशासनहीन भयो भने पार्टीको विधान छ, देशको कानून छ । संसद नियमावली छ । दलसम्बन्धी कानून छ । त्यसैअनुसार अघि बढिन्छ । म सबैको ध्यानाकर्षण गराउँन चाहन्छु ।’
एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले ४ र ५ चैतमा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । सोही भेलातर्फ लक्षित गर्दै बोलेको ओलीले नेपाल–खनालको नाम भने लिएनन् । ओलीले आफ्नो समूहले पार्टीलाई विधि, विचार र विधानका आधारमा सञ्चालन गर्न चाहेको दाबी गरे । ओलीले आफ्नो समूह सभ्य र अनुशासितसमेत रहेको जिकिर गरे ।
‘सभ्य र अनुशासिन पार्टीले मात्र सभ्य र अनुशासित समिाज निर्माण गर्न सक्छ’, ओलीले भने, ‘आफ्नो अहम तुष्टिका लागि मनपरी गर्दै हिँड्ने छुट कसैलाई छैन ।’ एमालेमा कसैमाथि पनि अन्याय नहुने भन्दै ओलीले नेपाल–खनाल समूहले ठूल्ठूला अपराध गरेको आरोप लगाए । त्यति ठूलो अपराध हुँदा पनि फराकिलो छाती बनाएर पार्टीमा स्वागत गरिरहेको जिकिर गरे ।