प्रचण्ड र माधव नेपाल समूहबीच पार्टी एकीकरण हुने

काठमाण्डु टुडे २०७७ चैत १ गते १९:१० मा प्रकाशित

काठमाण्डु, १ चैत– नेकपा माओवादी केन्द्रले पार्टीको नाम परिवर्तन गर्ने भएको छ ।

केन्द्रीय समितिको आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नाम परिवर्तनसम्बन्धी प्रस्ताव राखेका हुन् । प्रचण्डले बैठकमा ‘पार्टीको नामबारे’ शीर्षकमा प्रस्ताव राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

तर, नाम के राख्ने भन्नेबारे प्रस्तावमा उल्लेख नगरिएको उनले बताए । श्रोतका अनुसार एमालेको माधव नेपाल समूह र अन्य बाम शक्तिबीच एकीकरणका लागि माओवादी नाम बाधक हुन सक्ने भएकाले हटाउन प्रस्ताव गरिएको हो । ‘केपी ओलीको अपमान सहेर माधव नेपालहरु एमालेमा बस्न सक्ने अवस्था छैन ।

आगामी निर्वाचनसम्म स–साना ध्रुवमा विभाजित धेरै कम्युनिष्ट घटकलाई एउटै केन्द्रमा ल्याउने प्रयास गर्ने भन्ने उद्देश्यले नाम फेर्न लागिएको हो’, ती नेताले भने । यद्यपि नेपाल समूहसँग तत्काल एकता भने नहुने उनको भनाइ छ । ‘एकताको वातावरण बन्न अझै केही समय लाग्ला’, उनले भने, ‘तर, अर्को चुनाव अगाडि एकता हुने पक्का हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us