
काठमाण्डु, २८ पुस– प्रधानमन्त्री केपी ओलीले आफू चीनको आदेशबाट नचल्ने टिप्पणी गरेका छन् ।
भारतीय टेलिभिजन जी न्यूजलाई दिएको अन्तर्वार्तामा ओलीले नेकपा विवाद मिलाउन चीनले दिएको दबाब स्वीकार्य नहुने स्पष्ट गरे । नेपालीहरुले आफ्नोबारे आफैं निर्णय लिने भन्दै ओलीले कसैबाट निर्देशित हुन नसकिने बताए । ‘हामी हाम्रो आन्तरिक विषयमा आफैं निर्णय लिन्छौं’, नेकपा एकीकरणका लागि चीनले दबाब दिएकोबारे सोधिएको प्रश्नमा ओलीले भनेका छन्, ‘हामी हाम्रो स्वतन्त्रतालाई प्रेम गर्छौं, कसैको निर्देशनमा चल्दैनौं ।’
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेलगत्तै चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गो इन्झो नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आएको थियो । टोलीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल लगायतलाई भेटेर पार्टी एकता जोगाउन आग्रह गरेको थियो ।
संसद विघटनअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री ओलीलाई पार्टी विभाजन रोक्न अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजनीतिमा दिन भनेकी थिइन् । अन्तर्वार्तामा ओलीले नेपाल, भारत र चीनबीच सम्बन्ध राम्रो हुनुपर्ने भन्दै आफू भारत र चीन दुवै कार्ड खेल्ने पक्षमा नरहेको दाबी गरे । बरु आफू तीन देशबीच समझदारी कायम गर्न मध्यस्थताका लागि तयार रहेको ओलीको भनाइ थियो ।