
काठमाण्डु, २९ असार- बाढी र पहिरोका कारण अबरुद्ध भएका मुलुकका विभिन्न सडक खुलाउन अझै केही दिन लाग्ने भएको छ ।सडक विभागले सडक खुलाउने प्रयास भइरहेको भए पनि सबै सडक सुचारु गर्न अझै केही दिन लाग्ने जनाएको हो ।विभागले काठमाडौंबाट बल्खु हुँदै हेटौंडा जोड्ने सडक खुलाउन कम्तिमा चार दिन लाग्ने जनाएको छ ।
मकवानपुरको कुलेखानी सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेकाले पहिरो पन्छाउन चार दिन जति लाग्ने भएको हो । यस्तै अवरुद्ध बीपी राजमार्ग खुलाउन पनि दुई दिन लाग्ने भएको छ ।काभ्रेको रोशी गाउँपालिका-११ माम्तीमा र सिन्धुलीको सुनकोशी गाउँपालिका-१ कमेरेमा सडकमा लेदो माटो खसेर राजमार्ग अवरुद्ध बनेको हो ।
काभ्रे भिरमा चट्टान काटेर सडक बनाउनुपर्ने भएकाले अझै केही दिन लाग्न सक्ने विभागको भनाइ छ ।त्यसैगरी मुस्ताङको थामाङ गाउँपालिका-४ घोप्टेभीरमा कालीगण्डकी नदीमा पानीको वहाव बढेर बेनी जोमसोङ जाने सडकखण्ड अवरुद्ध भएको छ ।त्यस्तै अबरुद्ध भएको उदयपुरको घुर्मी-कटारी सडकखण्ड सञ्चालनमा आउन पनि केही दिन लाग्ने भएको छ ।सिद्धिचरण राजमार्ग सञ्चालनमा आउन भने कम्तिमा ३ दिन लाग्ने विभागले जनाएको छ ।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७ मा पहिरो खसेर राजमार्ग अबरुद्ध बनेको हो । यस्तै हिजोदेखि अवरुद्ध सिद्वार्थ राजमार्ग खुलाउने प्रयास जारी छ ।राजमार्गमा पहिरो जाँदा ठूला ढुंगा खसेकाले पन्छाउन समय लाग्दा सञ्चालनमा ल्याउन ढिलाइ भएको प्रहरीले जनाएको छ ।सडक विभागले अत्यावश्यक अवस्थाबाहेक क्षति पुगेका वा संवेदनशील देखिएका सडक प्रयोग नगर्न आग्रह गरेको छ।
यता, भारी वर्षाले बाग्लुङका विभिन्न स्थानमा पहिरो जाँदा मध्यपहाडी लोकमार्गका अधिकांश खण्ड क्षतविक्षत बनेका छन् ।सदरमुकामदेखि घोडाबाँधेसम्मको २५ किलोमिटर खण्ड स्तरोन्नति नहुँदा यात्रीले सास्ती खेपेका छन् ।उक्त खण्डमा हिलाम्य छ भने अन्य कालोपत्रे गरिएको खण्डको दर्जनौं स्थानमा खसेको पहिरोले सडकमा दुर्घटनाको जोखिम बढेको छ ।
दुदिलाभाटीको झाँक्रीस्थान, काफलठुटा, मल्मको आँगखेत र छिस, रिघा फेदीका विभिन्न स्थान, ग्वालीचौर, भीमगिठेलगायतका स्थानमा पहिरो खसेको छ ।बडिगाड क्षेत्रमा यो क्रम अझै बढी छ । बडिगाड खोलाले पक्की सडक पनि भासिएको छ ।निरन्तर पानी परिरहेकाले खोला बढेर अझै भत्किने खतरा भएको स्थानीयले बताएका छन् ।