
काठमाण्डु, १३ असार– प्रमुख विपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार ढाल्ने चेतावनी दिएका छन् ।
लोकतन्त्रमाथिको प्रहार नरोके सरकार ढाल्ने देउवाले बताए । राणाशासन, पञ्चायती सरकार र राजा फालेको काँग्रेसका लागि ओली सरकार फाल्न कुनै गाह्रो नहुने दाबी उनको थियो । ‘नेपाली काँग्रेसले राणा फाल्यो, पञ्चायत ढाल्यो, राजा फालेको हो’, पार्टीसम्वद्ध स्थानीय निकायका कर्मचारीको शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा देउवाले भने, ‘ओली फाल्न केही गाह्रो छैन ।’
देउवाले आफ्नाा पार्टीका कर्मचारीलाई वर्तमान सरकारले दुःख दिएको भन्दै आक्रोश पनि पोखे । वर्षौंदेखि कार्यरत स्थानीय तहका कर्मचारीलाई स्थायी नगरेर सरकारले अन्याय गरेको भन्दै तत्काल स्थायी नगरे आन्दोलनमा जाने चेतावनी दिए । वर्तमान सरकारले प्रेस स्वतन्त्रता र नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार हुने गरी ल्याएका विधेयक कुनै हालत पारित हुन नदिने देउवाले बताए ।