बाबुराम भट्टराईको गाउँमै पुगेर गगनले भने–बाबुरामसँग हिसाब हुन्छ, क्षमापूजा गरिन्छ

काठमाण्डु टुडे २०७६ असार ७ गते २१:१३ मा प्रकाशित

काठमाण्डु, ७ असार– काँग्रेस नेता गगन थापाले तत्कालीन नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई प्रतिनिधिसभा निर्वाचनमा सघाएर आफ्नो पार्टीले ठूलो भुल गरेको टिप्पणी गरेका छन् ।
थापाले आगामी निर्वाचनमा त्यसको प्रायश्चितका लागि क्षमापूजा गरिने उनले बताए । चुनाव जिताउन काँग्रेसको सहारा लिएका भट्टराईले जितेपछि भने काँग्रेसलाई तथानाम गाली गर्दै हिंडेकाले उनले त्यसको मूल्य चुकाउनुपर्ने उनको भनाइ थियो । ‘काँग्रेसका मतदाताको भोटले जितेपछि उहाँले काँग्रेसलाई नै तथानाम गाली गर्दै हिंड्न थाल्नुभयो’, बाबुरामको गृहनगर पालुङटारमा शनिबार आयोजित काँग्रेस नगरअधिवेशनमा थापाले भने, ‘बाबुरामलाई जिताएर गरिएको भुलको प्रायश्चितका लागि आगामी चुनावमा काँग्रेसले क्षमापूजा गर्छ ।’ उनले बाबुरामसमेत सहभागी भएको माओवादी जनयुद्धमा धेरै काँग्रेसको हत्या भएको र बाँकी काँग्रेसले भोट लिएर गल्ती गरेको बताए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसले तत्कालीन नयाँ शक्ति संयोजक भट्टराईलाई गोरखा–२ मा सघाएको थियो । चुनाव जित्न काँग्रेसकै मतको सहारा लिएका बाबुरामले विजयसभामै काँग्रेसलाई संग्रहालयमा राख्नुपर्ने अभिव्यक्ति दिएको आफूहरुले नबिर्सिएको चर्चा गर्दै थापाले त्यसको हिसाब आगामी चुनावमा गरिने चेतावनी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us