
तस्वीरः सामाजिक सञ्जाल
काठमाण्डु, ६ असार–नेपाली समाजमा एउटा भनाइ छ, ‘खाने बेलामा कैदीले पनि सुख पाउँछ । तर, निलम्बित सांसद रेशम चौधरीमाथिको व्यवहार हेर्ने हो भने अमानवीयताको पनि पराकाष्टा नाघेको छ ।
टिकापुर हत्या काण्डका आरोपी चौधरी सर्वोच्च अदालतको आदेशमा जेलमा छन् । उनीसहित ११ जनालाई गत फागुनमा सर्वोच्चले सर्वश्वहरणसहित जन्मकैदको फैसला सुनाएको थियो । डिल्ली बजार कारागारमा रहेका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि वीर अस्पताल भर्ना गरिएको छ । रातदिन सुरक्षाकर्मीले पहरा दिइरहेका छन् । त्यतिसम्म त स्वाभाविकै हो, तर उनलाई अस्पतालको शैय्यामा समेत हातमा हथ्कडी र खुट्टामा नेल लगाइएको छ ।
ढाडको नशामा समस्या देखिएपछि उनलाई बिहीबार साँझ अस्पताल लगिएको हो । वीर अस्पताल प्रशासनले चौधरीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ । बस्न र उठ्नसमेत अरुको सहारा चाहिले चौधरीलाई किन नेल र हथ्कडी लगाइएको होला भनेर अस्पतालमा रहेका अन्य बिरामी, बिरामी कुरुवा र चिकित्सक तथा स्वास्थ्यकर्मीले समेत प्रश्न गरिरहेका छन् । संविधानको विरोधमा ०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भएको प्रदर्शनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ९ जनाको ज्यान गएको थियो । चौधरी सोही घटनाका मुख्य आरोपी हुन् । घटनापछि लामो समय भारतमा भूमिगत बसेका उनी भूमिगत रुपमै प्रतिनिधिसभा निर्वाचनमा कैलाली–१२ बाट राजपाका तर्फबाट निर्वाचित भएका हुन् ।