प्रहरीको विप्लव समूहसँग दोहोरो भीडन्त, जिल्ला इञ्चार्ज मारिए

काठमाण्डु टुडे २०७६ असार ५ गते १५:३९ मा प्रकाशित

काठमाण्डु, ५ असार – प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग सर्लाहीमा प्रहरीको दोहोरो भीडन्त भएको छ ।

जिल्लाको लालबन्दीमा दुवै पक्षबीच दोहोरो भीडन्त भएको हो । भीडन्तमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले झडपमा विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको बताए ।  पौडेल ‘विप्लव’ समूहको सर्लाही जिल्ला इन्चार्ज रहेको प्रदेश २ प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले पुष्टी गरे ।

पौडेल बागमती नगरपालिका धरहराका स्थानीय बासिन्दा हुन् । उनै पौडेलको नेतृत्वमा नेकपाका नेता, कार्यकर्ता र प्रहरीबीच केही महिनाअघि पनि सुकुम्बासी बस्ती हटाउने विषयलाई लिएर तनाव उत्पन्न हुँदा प्रहरीले गोली चलाएको थियो । तर, त्यतिबेला भने कुनै मानवीय क्षति भएको थिएन ।

पौडेल नेकपा माओवादी फुटेपछि मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका थिए । पछि उनी नेत्रविक्रम चन्दले नेकपा बनाएपछि सोही पार्टीको प्रदेश नम्बर २ कै माथिल्लो तहमा थिए । त्यसअघि उनी चुरे भावर पार्टीमा थिए ।

नेकपाले बागमती नगरपालिकाका मेयर भरत थापालाई कारबाही गर्ने चेतावनी दिएको थियो । पूर्वमाओवादी मेयर थापाले जनयुद्धकालमा सुराकी गरेको, आर्थिक अपचलन गरेको, भ्रष्टाचार र गुण्डागर्दी गरेको आरोप लगाउँदै जनताले दण्डित गर्ने चेतावनीपूर्ण विज्ञप्ति जारी गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us