बालुवाटारको जग्गा हडप्नेलाई खोजीखोजी कारवाही गर्नुपर्छः अर्जुननरसिंह केसी

काठमाण्डु टुडे २०७६ वैशाख ९ गते १२:५४ मा प्रकाशित

बुटवल, ९ वैशाख – नेपाली काँग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले बालुवाटारको जग्गा हडप्नेलाई खोजीखोजी कारवाही गरिनुपर्नेमा जोड दिएका छन् ।

सोमबार बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै केसीले देशका अन्य ठाउँमा पनि सरकारी सम्पत्ति हड्प्ने खेल भइरहेको भन्दै त्यस्ता कार्यमा संलग्न जोसुकै भएपनि कारबाहीको दायरामा ल्याइनुपर्नेमा जोड दिए ।

उनले भने, ‘सरकारी सम्पत्ति हिनामिना गर्ने जो केही भएपनि सरकारले छाड्नुहुँदैन, नेकपाका वा काँग्रेस पार्टीकै जोसुकै भएपनि कानुनी दायरमा ल्याउनुपर्छ ।’

नेता केसीले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाउँदै सोही कारण राष्ट्र, राष्ट्रियता र अर्थतन्त्र इतिहासमै कमजोर अवस्थामा पुगेको दाबी गरे ।

सरकारले हावादारीका नारा बनाएर जनतालाई भ्रममा पारेको आरोप लगाउँदै केसीले ओली सरकार आफैंले गरेका गल्तीकै कारण ढल्ने बताए ।

सरकार लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा नभएको दाबी गर्दै केसीले प्रधानमन्त्री ओलीले संसदीय प्रकृया र मूल्य मान्यतालाई पनि तोडेको आरोप लगाए ।

लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोज्दा सरकार आफै नियन्त्रण हुने पनि उनले जिकिर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us