अन्ततः सन्दीपको टीम हार्‍यो

काठमाण्डु टुडे २०७५ फागुन ५ गते १३:२८ मा प्रकाशित

काठमाण्डु, ५ फागुन – अस्ट्रेलियाको बिग बास लिगको फाइनलमा नेपाली युवा क्रिकेटर सन्दीप लमिछाने आवद्ध टोली मेलबर्न स्टार्स पराजित भएको छ । उपाधिका लागि मेलबर्न रेगेनेट्ससँग प्रतिस्पर्धा गरेको मेलबर्न स्टार्स १३ रनले पराजित भएको हो ।

मेलबर्न स्टार्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि मेलबर्न रेगेनेट्सले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १४५ रन बनाएको थियो । १४६ रनको सहज लक्ष्य पछ्याएको मेलबर्न स्टार्सले २० ओभरमा ७ विकेट गुमाएर १३२ रन मात्रै बनाउन सक्यो ।

फाइनल खेलमा सन्दीपले कुनै विकेट लिन नसकेपनि निकै कसिलो बलिङ गरेका छन् । चारै ओभर बलिङ गर्न पाएका उनले १६ रन मात्रै दिए ।

आइपीएलपछि लगातार ठूला विदेशी लिगमा व्यस्त रहेका सन्दीपले पहिलो पटक फाइलन खेल्ने अवसर पाएका हुन् । यसपछि उनी पाकिस्तानी सुपर लिग खेल्न जानेछन् । पाकिस्तानी सुपर लिग यूएइमा गत बिहीबार देखि सुरु भइसकेको छ । सन्दीपलाई लिएको टिम लाहोर क्वालान्डर्सले दुई खेल खेलिसकेको छ ।

सन्दीपले बिग बासमा ८ खेल खेल्दा ११ विकेट लिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us