
जाजरकोट, ७ माघ–साल्ट ट्रेडिङ कर्पोरेसन जिल्ला शाखाबाट मात्र वितरण हुँदै आएको आयोडिनयुक्त नुन जाजरकोटका विभिन्न बजारमा महँगो शुल्कमा बिक्री वितरण हुँदै आएको छ । जिल्ला शाखाबाट प्रतिपोका नौं रुपैयाँमा बिक्री वितरण हुने गरेको आयोडिनयुक्त नुन सदरमुकामलगायत अन्य बजारमा ३५ देखि ४० रुपैयाँसम्ममा बिक्री वितरण हुँदै आएको हो ।
कर्पोरेसनको जिल्ला शाखाबाट प्रतिव्यक्ति तीन पोकाको दरले नुन वितरण हुँदै आएको छ । तर बजारका व्यापारीलाई शाखाले क्विन्टलका क्विन्टल नुन लुकाएर दिएपछि जनताले चर्को मूल्य तिरेर लिनुपर्ने बाध्यता सिर्जना भएको हो । अहिले जाजरकोट सदरमुकामलगायत रिम्ना, कालीमाटी लगायतका बजारमा रहेका पसलहरुमा ठूलो मात्रामा आयोडिनयुक्त नुन फेला परेको छ ।
सरकारले जाजरकोट लगायतका दुर्गम तथा हिमाली जिल्लामा आयोडिनयुक्त नुनमा अनुदान दिँदै आएको छ । तर नुन वितरणमा भइरहेको अनियमितता र कमिसनका कारण जनता भने मर्कामा परेका छन् । व्यापारीको मिलोमतोमा कमिसनका कारण कर्पोरेसन शाखाका कर्मचारीले शाखामा नुनको अभाव देखाई बजारका पसलहरुमा महँगो शुल्कमा किन्न बाध्य बनाएको स्थानीयको गुनासो छ । रासस