काठमाण्डू, २४ असार– फिफा विश्वकप फुटबल अन्तर्गत हिजो भएको इजिप्ट विरुद्धको खेलमा अर्जेन्टिनाले शानदार कमब्याक गरेपछि कप्तान लियोनेल मेसीले आफ्नो असफल पेनाल्टीबारे खुलेर प्रतिक्रिया दिएका छन् । पेनाल्टीमा गोल गर्न नसक्दा सिंगै टोलीलाई निराश बनाएको महसुस गरेको भन्दै मेसीले प्रतिक्रिया दिएका हुन ।
खेलको पहिलो हाफमा मेसीको पेनाल्टी प्रहारलाई इजिप्टका गोलकिपर मुस्तफा शोबेरले उत्कृष्ट बचाउ गरिदिएका थिए । विश्वकपमा कुल आठ पेनाल्टी प्रहार गरेका मेसीले ४ पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन् । टाइम्स अफ इन्डियाका अनुसार खेलभरि उनले भोगेका भावनात्मक उतारचढावलाई विस्तृतमा बताएका छन् ।
इजिप्टविरुद्धको कमब्याक आफ्नो टोलीका लागि ठूलो राहत भएको पनि मेसीले बताएका छन । मेसीले भने, ‘त्यो पेनाल्टी मिस हुँदा म आफैँसँग निकै झोक्किएको थिएँ । मैले जसरी त्यो पेनाल्टी प्रहार गरेँ, सम्झँदा पनि रिस उठिरहेको थियो ।
यति महत्त्वपूर्ण क्षणमा आएर मैले टोलीलाई धेरै निराश बनाएको महसुस गरेको थिएँ,’ मेसीले भनेका छन्, ‘तर भगवानले खेलको अन्त्यबारे फरक तरीकाले सोचेको थिएछ । मैले बराबरी गोल फर्काउन सकेँ । त्यो क्षण मैले ठूलो राहत महसुस गरेको थिएँ ।’ उनले अर्जेन्टिनाले कहिल्यै हार नमान्ने समेत बताए ।
दुई गोलले पछि पर्दा पनि टोलीले देखाएको आत्मविश्वासको प्रशंसा गरेका छन । उनले भने, ‘मैले धेरैपटक भनेको छु, अर्जेन्टिनी टोली यस्तो टोली हो जसले कहिल्यै हार मान्दैन, घुँडा टेक्दैन ।’ हिजोको खेलपछि इजिप्ट विश्वकपबाट बाहिरिएको छ भने अर्जेन्टिना क्वाटरफाइनल पुगेको छ । क्वाटरफाइनल उसले स्विटजरल्याण्डको सामना गर्नेछ ।