मुलुक अलोकतान्त्रिक खोँचतिर धकेलिँदैछ, एमाले–कांग्रेस आन्तरिक समस्याबाट उठ्नुपर्छः एमाले नेता ज्ञवाली

काठमाण्डु टुडे २०८३ असार २ गते १५:३७ मा प्रकाशित

काठमाण्डू, २ असार– पूर्व मन्त्री एवं एमाले नेता प्रदीप ज्ञवालीले एमाले र कांग्रेस आन्तरिक समस्याबाट माथि उठेर राष्ट्रिय मुद्दामा केन्द्रित हुनुपर्ने बताएका छन । नेता ज्ञवालीले लोकतान्त्रिक पार्टीहरूभित्र नीति, निर्णय, सङ्गठन, शैली र नेतृत्वका बारेमा मतान्तर देखिनु अस्वाभाविक नभएको पनि उनले बताएका छन ।

एमाले नेता ज्ञवालीले भनेका छन, ‘एमाले र कांग्रेस जस्ता पार्टीहरू यतिबेला केही आन्तरिक समस्याहरूसँग जुझिरहेका छन् । लोकतान्त्रिक पार्टीहरूभित्र नीति, निर्णय, सङ्गठन, शैली र नेतृत्वका बारेमा मतान्तर या विमतिहरू देखिनु अस्वाभाविक होइन, ‘यी समस्याको समाधानका आफ्नै विधिहरू छन् ।

आशा छ, समस्याहरू विधिसम्मत ढङ्गले समाधान हुनेछन् र पार्टीहरूको आन्तरिक एकता थप सुदृढ हुनेछ । तर, आन्तरिक विषयहरूको सामना गरिरहेको बेला हाम्रो ध्यान मुख्य राष्ट्रिय मुद्दाहरूमा केन्द्रित हुनैपर्छ ।’ उनले नेपाल गम्भीर भूराजनीतिक भुँवरीतिर धकेलिँदै गइरहेको समेत बताए ।

उनले थपेका छन्, ‘सीमामा चिया निकासी रोकिँदा हजारौँ श्रमिक र सयौँ उद्यमीहरू सङ्कटमा पर्नुभएको छ । दुई महिना अगाडि बर्बरतापूर्वक लखेटिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरू होल्डिङ सेन्टरहरूमा बेवारिसे जस्तै हुनुभएको छ । धान रोप्ने बेला मलको अभाव यथावत् छ ।

महँगी भयावह बनिरहेको छ ।’ यी सबै कुरामा बेखबर भएर प्रधानमन्त्री ‘जिस्किँदै’ बसेको टिप्पणी गरे। उनले थपे, ‘उहाँको ‘देश बनाउने टोली’ व्यवसायीहरूका खुट्टा भाँच्ने धम्की दिँदै छ । गरिखानेहरूको ट्याम्पो भीरबाट गुडाइदिएर ठुलै शत्रुमाथि ‘सर गरेको’ आत्मरतिमा रमाइरहेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us