अल्जेरियासँगको खेल मेसीका लागि विशेष

काठमाण्डु टुडे २०८३ असार २ गते १५:२० मा प्रकाशित

काठमाण्डू, २ असार– साविक विजेता अर्जेन्टिनाले बुधबार अल्जेरियाविरुद्ध खेल्दै फिफा विश्वकप २०२६ को उपाधि रक्षा अभियान सुरु गर्दैछ । समूह ‘जे’ अन्तर्गत कन्सास रंगशालमा हुने खेल नेपाली समय अनुसार बिहान ६ः ४५ बजे सुरु हुनेछ । अर्जेन्टिना इटली र ब्राजिलपछि लगातार विश्वकप जित्ने तेस्रो राष्ट्र बन्ने लक्ष्यमा छ ।

अल्जेरियाको लक्ष्य भने आफ्नो इतिहासमै दोस्रोपटक नकआउट चरणमा पुग्नेछ। यो विश्वकप अर्जेन्टिनाका लागि लगातार १४ औं अनुभव हो । लियोनल स्कालोनीको नेतृत्वमा रहेको अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा रहँदै उत्तर अमेरिकाको टिकट काटेको थियो ।

यो यात्रामा अर्जेन्टिनाले चिरप्रतिद्वन्द्वी ब्राजिललाई ४–१ ले हराएको थियो । अर्जेन्टिनाले १८ खेलमा ३८ अंक जोडेको थियो। कप्तान लियोनल मेसी आठ गोलसहित उच्च गोलकर्ता बनेका थिए ।

दक्षिण अमेरिकी छनोटमा प्रभावशाली प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गरेको अर्जेन्टिनाले त्यसयता खेलेका सातवटै मैत्रीपूर्ण खेल जितेको छ । यी खेलमा टोलीले २१ गोल गर्दा केवल एक गोल मात्र व्यहोरेको थियो । या खेलमा सबैको नजर कप्तान लियोनल मेसीमाथि हुनेछ ।

अल्जेरियाविरुद्ध मैदान उत्रिए मेसीले आफ्नो २०० औँ अन्तर्राष्ट्रिय खेल खेल्नेछन् भने विश्वकपमा नयाँ कीर्तिमान पनि बनाउन सक्नेछन् । चोटबाट निको भएका अधिकांश खेलाडी उपलब्ध भएकाले अर्जेन्टिना बलियो टोलीसहित मैदानमा उत्रने अपेक्षा गरिएको छ ।

यता, पाँचौँ पटक विश्वकप खेलिरहेको अल्जेरिया पनि आत्मविश्वासका साथ प्रतियोगितामा प्रवेश गर्दैछ । उत्कृष्ट छनोट यात्रापछि विश्वकपमा स्थान बनाएको टोलीले पछिल्ला चार मैत्रीपूर्ण खेलमध्ये तीनमा जित निकालेको थियो । कप्तान रियाद माहरेज र स्ट्राइकर मोहम्मद अमौरा अल्जेरियाका मुख्य आशा हुन् ।

अर्जेन्टिना स्पष्ट रूपमा बलियो देखिए पनि विश्वकपमा कुनै पनि टोलीलाई कमजोर आँक्न नमिल्ने भएकाले अल्जेरियाले अपसेट नतिजाको खोजी गर्नेछ। त्यसैले समूह ‘जे’ को यो उद्घाटन भिडन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us