काठमाण्डू, २ असार– फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को पहिलो खेलमा फ्रान्स र सेनेगल मंगलबार मध्यराति आमनेसामने हुँदैछन् । यो खेलले सन् २००२ को विश्वकप उद्घाटन खेलको सम्झना दिलाउँछ, जहाँ सेनेगलले तत्कालीन च्याम्पियन फ्रान्सलाई १–० ले स्तब्ध बनाएको थियो ।
यसपटक फ्रान्स उपाधिको प्रमुख दाबेदार मध्य एक मानिएको छ । मुख्य प्रशिक्षक डिडियर डेस्च्याम्प विश्वकपपछि पद छाड्ने तयारीमा रहेकाले टोली उनलाई विजयी बिदाइ दिन चाहन्छ ।
डेस्च्याम्प अर्थात् खेलाडी र मुख्य प्रशिक्षक दुवै भूमिकामा विश्वकप चुम्ने एक मात्र जीवित व्यक्ति। डेस्च्याम्पले विश्वकपपछि आफ्नो ‘हटसिट’ अर्का पूर्वकप्तान जिनेदिन जिदानलाई छाड्दै छन्। त्यसैले अमेरिका विश्वकपमा उनीसँग सर्वकालीन महान प्रशिक्षक बन्ने अवसर रहनेछ ।
अमेरिकामा एक त डेस्च्याम्पलाई दोस्रो विश्वकप चुम्ने अवसर छ। अर्को उनले सबैभन्दा धेरै विश्वकप खेल जित्ने प्रशिक्षक बन्ने मौका पनि छ। यदि फ्रान्सले समूह चरणका तीनवटै खेलमा विजयी हासिल गर्ने हो भने डेस्च्याम्पले जर्मन प्रशिक्षक हेल्मुट सोनको १६ खेलको कीर्तिमानलाई भंग गर्नेछन् ।
छनोट प्रतियोगितामा फ्रान्सले मात्र दुई अंक गुमाएको थियो। फ्रान्सको यो लगातार आठौं विश्वकप सहभागिता हो। पछिल्ला सातमध्ये चार संस्करणमा टोलीले फाइनल खेलेको छ ।
यस्तै कप्तान किलियन एमबाप्पे पनि नयाँ कीर्तिमान नजिक छन्। यता, अफ्रिकाको बलियो टोलीमध्ये एक सेनेगल लगातार तेस्रो विश्वकप खेल्दै छ ।
साडियो मानेको नेतृत्वमा रहेको टोलीले छनोट चरणमा अपराजित यात्रा तय गरेको थियो । दुवै टोली उत्कृष्ट लयमा रहेकाले समूह चरणकै सबैभन्दा रोचक खेलमध्ये एक हुने अनुमान छ ।