यो देश रास्वपाको पेवा हैनः रविन्द्र मिश्र

काठमाण्डु टुडे २०८३ जेठ १ गते १४:१८ मा प्रकाशित

काठमाण्डू, १ जेठ– रविन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा व्यक्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिबद्धतामाथि व्यंग्य गरेका छन । हिजो (बिहिबार) संसदमा नीति तथा कार्यक्रममाथिको छलफलपछि उनले व्यंग्यात्मक शैलीमा अहिलेको नेतृत्वलाई मात्रै केन्द्रमा राखेर देशको भविष्य सोच्न नहुने उनले बताएका छन ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘मानौँ, यो देश रास्वपाको यही पुस्ताका नेताहरूको मात्र पेवा हो। मानौँ, भविष्यमा सो पार्टीमा खराब नेतृत्व आउँदै आउँदैन।’ मिश्रले नेपालको संवेदनशील भूराजनीतिकमा क्षेत्रीय तथा विश्व शक्ति संघर्षको प्रभाव नेपालमा पर्न सक्ने भन्दै विविध जातीय, धार्मिक र क्षेत्रीय सम्बन्धमा संकट आउन सक्ने सम्भावनालाई पनि नजरअन्दाज गर्न नहुने उल्लेख गरेका छन् ।

साथै देशभक्ति र राष्ट्रिय एकताको प्रतीकको आवश्यकता रहेको भन्दै वर्तमान राजनीतिक नेतृत्व र राष्ट्रपतिको संस्थामाथि मात्र पूर्ण भरोसा गरेर बस्न नहुने बताए। उनले अधिकांश युवापुस्ता विदेशमै बस्ने सम्भावना रहेको भन्दै भोलि पनि नेपालमै बस्ने करोडौँ सन्ततिका बारेमा देशको एक नम्बरको पार्टीले सोच्नुपर्ने पनि उनले बताएका छन ।

मिश्रले विश्व परिस्थिति दिनप्रतिदिन असुरक्षित बन्दै गएको भन्दै नेपालजस्तो मुलुकले दीर्घकालीन शान्ति, स्थिरता र अस्तित्वका विषयमा गम्भीर सोच आवश्यक रहेको समेत बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us