
चितवन, ७ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गोर्खा मिडियाका तत्कालीन अध्यक्ष जितेन्द्रबाबु (जिबी) राई माथि संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्धा दायर गरिएकामा आपत्ति जनाएका छन् ।
सहकारी ठगी कसुरमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका लामिछानेले शुक्रबार सार्वजनिक अपिल जारी गर्दै आफूलाई फसाउने उद्देश्यले राईमाथि उक्त मुद्धा लगाइएको बताए । आफूविरुद्धको षड्यन्त्र अझै नरोकिएको उनको भनाइ थियो ।
राई लामिछाने कार्यकारी निर्देशक रहेको गोर्खा मिडियाका अध्यक्ष थिए । प्रहरीको फरार सूचीमा रहेका भागेर मलेसिया पुगेको भए पनि नेपाल फिर्ता ल्याइएको छैन ।
लामिछानेले जिबी राईलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्धा लगाइनुको उद्देश्य उनले मलेसियाबाट लाखौं डलर बोकेर फर्के पनि हिसाब फरफारक गर्न नपाउन् भन्ने रहेको उनले बताए ।
सबै सहकारी पीडितले रकम फिर्ता पाए पनि बिजी राई सम्वद्ध सहकारी पीडितले न्याय पाउन कठिन रहेको लामिछानेको भनाइ छ ।
‘यो देशमा सबै सहकारी पीडितले पैसा फिर्ता पाएछन् भने पनि जिबी राई सम्बद्ध सहकारीका बचतकर्ताले कहिल्यै पाउने छैनन् । सुरुमा जीबी राईलाई केवल सहकारी ठगीको मुद्दा थियो’, उनले भनेका छन्, ‘मेलमिलापको ढोकासमेत बन्द गर्ने कानुनी प्रपञ्च रचिसकिएको छ ।’
स्वस्थ र प्रजातान्त्रिक विधिबाट रास्वपासँग अब राजनीतिक प्रतिस्पर्धा गर्न सकिन्न र लुटको स्वर्ग भत्कन्छ भन्ने निष्कर्षमा पुगेपछि राजनीतिक दलहरु आफूविरुद्ध षड्यन्त्रमा लागेको आरोप उनले लगाए ।
लामिछानेले सञ्चारकर्म छाडेर राजनीतिमा प्रवेश गरेपछि पार्टीको नेतृत्व गरिदिन विभिन्न विशिष्ट व्यक्तिको दैलोसम्म पुगे पनि कसैले स्वीकार नगरेको बताए ।
सन्दुक रुइत, कुलमान घिसिङ, राजेश हमाल र अनिलकेसरी शाहसम्मलाई पार्टीको नेतृत्व गर्न आग्रह गरेको लामिछानेले उल्लेख गरे । तर, कसैले विश्वास नगरेपछि आफैं सभापति भएर पार्टी दर्ता गरेको खुलासा उनले गरे ।
लामिछानेले आफ्ना आलोचकले सत्तालोलुपको आरोप लगाउने गरेको भन्दै प्रधानमन्त्रीको अफर दुत्कारेको दाबी गरे । रास्वपाले सरकारको नेतृत्व गर्ने जनमत नपाएको भन्दै प्रधानमन्त्री पद अस्वीकार गरेको बताए ।