बहुआगामीक ढंगले चौतर्फी रुपमा देशको विकास गर्दैछौंः प्रधानमन्त्री

काठमाण्डु टुडे २०८२ असार ६ गते १७:२२ मा प्रकाशित

काठमाण्डू ६ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा शुक्रबार उद्घाटन गरिएजस्ता ओभरपास उपत्यकाका अन्य ठाउँमा पनि बनाउने बताएका छन ।

आज (शुक्रबार) ललितपुरको ग्वार्कोमा बनेको ओभरपास उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सामान्य रुपमा होइन देशले गति लिन लागेको रुपमा हामीले हेरेका छौं, ‘चक्रपथ विस्तार गर्ने कुरामा पनि हामी लागेका छौं ।

यस्तै फ्लाइओभर र ओभरपास अन्य ठाउँमा बनाइन्छ ।’ उनले सरकारले ट्राफिक जाम अन्त्य गर्ने कोसिस गरिरहेको पनि सम्बोधनको क्रममा भने । ‘देश विकासको बाटोमा कसरी अघि बढ्दैछ भन्ने जनताले देखिरहनुभएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘एशियाली स्टान्डर्डमा पूर्व पश्चिम राजमार्ग अघि बढाउने कुरा भएको छ ।

बहुआगामीक ढंगले चौतर्फी रुपमा देशको विकास गर्दैछौं ।’ उनले सरकारले एउटामात्रै क्षेत्रमा नभइ देशका अनेकन क्षेत्रमा विकासका कामहरू गरिरहेको पनि बताएका छन । ‘केही केही मान्छेलाई देश विकास भयो भन्ने चिन्ता छ,’ प्रधानमन्त्री ओलीले भने, ‘देश विकास हुँदैछ । हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us