प्रधानमन्त्रीको उपस्थितिमा ट्राफिक प्रहरीका एसएसपीले गरे ग्वार्को ओभरपास उद्घाटन

काठमाण्डु टुडे २०८२ असार ६ गते १६:४८ मा प्रकाशित

काठमाण्डू ६ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलेको उपस्थितिमा आज (शुक्रबार) ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास उद्घाटन गरिएको छ ।

प्रधानमन्त्री ओलीको उपस्थितिमा काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्घाटन गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार उद्घाटनपछि ओभरपासलाई सवारी आवागमनका लागि खुला गरिने छ । १२ फागुन २०७८ मा ठेक्का लागेको यो परियोजना सम्पन्न हुन ४ वर्षभन्दा बढी समय लागेको छ ।

तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा १४ करोड लागत थप भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले जानकारी दिएका छन । उनले भने, ‘करिब १७ करोड ६ लाख ८८ हजार ८८८ मा सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएको थियो ।

तर, काम सम्पन्न भइसक्दा हाम्रो अनुमानित लागत ३१ करोड ४६ लाख ५१ हजार ४४० पुगेको छ ।’ ०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो ।

तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि ०८१ असारमा निर्माण सम्पन्न हुनेगरी फेरि दोस्रोपटक म्याद थप भएको थियो । तर, फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी म्याद थप भयो । आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा गरी एक महिना जति आयोजना निर्माणको कामसमेत ठप्प भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us