मन्त्रीले आफ्नो वडा र टोलमा बजेट हाल्नु स्वाभाविकः एमाले सांसद ढकाल

काठमाण्डु टुडे २०८२ असार ५ गते १५:५५ मा प्रकाशित

काठमाण्डू, ५ असार– सत्ता घटक दल एमालेका सांसद सूर्यप्रसाद ढकालले मुलुक सङ्घीय संरचनामा गएपनि प्रदेश र स्थानीय तहका सरकारलाई केन्द्र सरकारले उनीहरूको अधिकार दिन नसकेको दाबी गरेका छन ।

आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद ढकालले यस्तो बताउका हुन । उनले जबसम्म केन्द्रमा रहेका अधिकार स्थानीय तहमा हस्तान्तरण हुदैनन तबसम्म देशका यावत समस्या भोगिरहनुपर्ने पनि बताएका छन ।

एमाले सांसद ढकालले भने, ‘यो गर्न सकेनौ भने तीन वर्ष अघि जे कुरा उठाइरहेका छौँ, आज पनि त्यही कुरा र आगामी तीन वर्षपछि पनि यही कुरा उठाउनुपर्ने हुन्छ ।’ उनले सत्तामा हुँदा केही नगर्ने र प्रतिपक्षमा हुँदा क्रान्तिकारी कुरा गरेर समाजलाई उत्तेजित पार्ने प्रवृत्ति र गलत राजनीतिक संस्कार सच्चाउन जरुरी रहेको बताए ।

उनले देशमा रहेका समस्या समाधान गर्न जनताले छानेर आफूहरूलाई पठाएको भन्दै कृषि, पूर्वाधारलगायतमा समस्या समाधान गर्न सक्नुपर्ने बताए । ‘हरेक आर्थिक वर्षमा आयव्ययमा छलफल गर्दा बजेटका पुस्तक च्यात्ने गर्छौ’, उनले भने, ‘पोहोर परार र अहिले च्यातिरहेका छौ आगामी वर्ष च्यात्ने छौ कि छैनौ ?’

निर्वाचनका बेला सबै कामको जिम्मा लिएर आउने तर बजेट निर्माणमा जनप्रतिनिधिको सहभागिताका बारेमा पनि छलफल गर्नुपर्ने तथा निर्वाचन प्रणालीका कारण मन्त्री भइसकेपछि आफ्नो वडा र टोलमा बजेट नहाले जनताले प्रश्न गर्ने भन्दै त्यो स्वाभाविक भएको बताए । ‘यदि मन्त्रीले आफ्नो क्षेत्रमा मात्र बजेट हाल्ने प्रवृत्ति रोक्ने हो भने हाम्रा यी संरचना र सिस्टमहरू परिवर्तन गर्न सक्नुपर्छ’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us