
काठमाण्डू, ५ असार– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणको विषयमा सबै दलहरू एकजुट भएर अघि बढ्न आग्रह गरेका छन ।
आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपा प्रमुख सचेतक शाहीले यस्तो बताएका हुन । उनले शाहीले भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा नभएको भन्दै एकजुट भएर अघि बढ्न आह्वान समेत गरेका छन ।
उनले उक्त प्रकरणमा अहिलेका गृहमन्त्री रमेश लेखकको मात्र नभई ०६४ साल यताका १४ जना गृहमन्त्रीमाथि छानबिन गर्न समेत माग गरे । उनले भने, ‘भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन । हामी सबैको साझा मुद्दा हो ।
आजको एक जना गृहमन्त्रीको कुरा होइन, ०६४ सालदेखिका १४ वटा गृहमन्त्रीको मुद्दा हो । राप्रपाको तर्फबाट सबै दलहरूलाई अपिल छ –हामी एक ठाउँमा आएर मानव बेचबिखनविरुद्ध एकजुट बनौँ । यो कुनै व्यक्ति वा दलको मात्र मुद्दा होइन ।
आज लाखौँ मान्छेहरू बेचिएर अलपत्र परेका छन् । जबसम्म यो भिजिट भिसा प्रकरणमा छानबिन समिति बन्दैन तबसम्म आन्दोलन जारी रहन्छ ।’ उनले अवरोधका बिच संसद् नचलाउन समेत सभामुखसँग आग्रह समेत गरे ।