
काठमाण्डू, ५ असार– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचि समेत रहेका सांसद जनार्दन शर्माले राजनीतिक अस्थिरताको कुरा गरेर नेताहरूले आफ्नो गल्ती ढाकछोप गर्ने काम गरिरहेको बताएका छन ।
आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा खर्च कटौतीको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले यस्तो बताएका हुन । माओवादी सांसद शर्माले भने, ‘यो सङ्ख्याको कुरा होइन ।
अहिले त दुई तिहाइ बहुमतकै सरकार छ त ?’, उनले भने, ‘दुई तिहाइको सरकार हुँदा पनि सरकार ढल्छ कि ढल्दैन, मेरो सरकार ढल्दैन भन्ने दोहोरी चलिरहन्छ ।’ शर्माले अस्थिरता सङ्ख्याको कुरा नभएर मेन्टालिटीको कुरा भएको पनि बताए ।‘हाम्रो मेन्टालिटी अस्थिर छ । अस्थिर मेन्टालिटीका कारण स्थिरता हुनसक्ने सम्भावनालाई पनि अघि बढाउन सक्दैनौ’, शर्माले भने, ‘कि आफ्नो डिफेन्ड गरिराख्नुपर्ने अवस्थामा हामी छौ ।’
०४८ देखि ०७४ सम्म आउँदा जनताले नेताहरूलाई अवसर दिएको भन्दै उनले ४८ मा एउटा नेतालाई, ६४ मा अर्को नेतालाई र ७४ मा जनताले अवसर दिएपनि त्यो अवसर प्रयोग गरेर नेताहरूले किन देशलाई समृद्धिको दिशामा अघि लैजान सकेनन् भनेर प्रश्न समेत गरेका छन ।
उनले भने, ‘अवसर नपाएर होइन, पाउँदापाउँदै पनि देशको समस्यालाई समाधान गर्ने दिशातिर अगाडि नबढेको साँचो हो, ‘अवसर पाउँदापाउँदै देश बन्न नसक्नु दुस्खद कुरा हो ।’
उनले अवसर पाउने नेताहरूको नाम आफूले नलिने भन्दै भ्रष्टाचार बढ्नु, गरिबी बढ्नु र न्याय स्थापित नहुनुमा नेताहरूले नै जिम्मेवारी लिनुपर्ने पनि बताएका छन ।