
काठमाण्डू, ५ असार– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेकत हितराज पाण्डेले सदनमा पेश भएका विधेयक पारित गराउने काममा सरकार गम्भीर नदेखिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् ।
आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै माओवादी प्रमुख सचेतक पाण्डेले यस्तो बताएका हुन । उनले सरकारले बोल्ने एउटा र व्यवहार अर्को देखाउने गरेको बताए ।
संघीय निजामती, विद्यालय शिक्षा र नागरिकता विधेयक समयमै पारित होस् भनेर प्रमुख प्रतिपक्षी दलले बारम्बार दबाब दिइरहेको भए पनि सरकारकै अनिच्छाको कारण ती विधेयक अहिलेसम्म अड्किएको उनले बताए ।
उनले लामो समयको बहस र छलफलपछि सदनमा आएको संघीय निजामती विधेयक चाँडो पारित गरेर प्रदेश र संघीय सरकारका समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन ।