इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ पक्राउ

काठमाण्डु टुडे २०८२ असार ५ गते १३:२४ मा प्रकाशित

काठमाण्डू, ५ असार– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाण्डू महानगरपालिका–७ बस्ने दाङ घोराही उपमहानगरपालिका–१६ घर भएका १९ वर्षीय दर्शन खड्का र तारकेश्वर नगरपालिका–३ बस्ने गोरखा धार्चे गाउँपालिका–५ घर भएका ३७ वर्षीय सरेश गुरूङ रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउमध्ये दर्शनले इटाली पठाइदिन्छु भन्दै ३ जना पीडितबाट ६ लाख रूपैयाँ र सरेशले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितबाट ४ लाख रूपैयाँ लिएको खुलेको प्रहरीले जनाएको छ ।

त्यसपछि दुवैजना फरार भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दर्शनलाई काठमाण्डू महानगरपालिका–७ बाट बुधबार र सरेशलाई काठमाण्डू महानगरपालिका–२६ बाट मंगलबार पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डू पठाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us