एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छ: उपाध्यक्ष पौडेल

काठमाण्डु टुडे २०८२ असार ४ गते १६:२१ मा प्रकाशित

काठमाण्डू, ४ असार– एमाले उपाध्यक्ष समेत रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीभित्र देखिएका सबै समस्याहरू समाधानयोग्य रहेको बताएका छन ।

बुधवार काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन ।

पार्टीको एकता जोगाउँदै राष्ट्रिय राजनीतिमा एमालेको भूमिका अझ प्रभावकारी बनाउन सक्ने सामर्थ्य पार्टी नेतृत्वसँग रहेको उनको दाबी छ । उनले पार्टी नेतृत्वको काबुभन्दा बाहिर कुनै पनि समस्या नरहेको उल्लेख गर्दै पार्टीभित्रका समस्या समाधान गर्न सक्ने क्षमता आफूहरूसँग रहेको दोहोर्‍याए ।

उनले कार्यकर्ता तहमा सक्रियता र उत्साहमा कमी आएकोप्रति चिन्ता व्यक्त गर्दै थप छलफलको आवश्यकता रहेको पनि बताएका छन । उनले भने, ‘आज नेकपा एमालेमा हाम्रो काबुभन्दा बाहिर, हामीले समाधान गर्न नसक्ने कुनै समस्या छ जस्तो लाग्दैन । समस्याहरू छन् तर ती सबै हाम्रो काबुभित्र छन्, समाधान गर्न सक्ने तहभित्रै छन् ।

अहिलेको पार्टीको नेतृत्वले पार्टीमा देखिएका कुनै पनि समस्याको समाधान गर्न सक्छ । र पार्टीको एकता सुरक्षित गर्दै राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई अझै प्रभावकारी बनाउँदै अगाडि बढ्न सक्छ भन्ने कुरामा हाम्रा सबै नेता कार्यकर्ताहरूले विश्वास गर्नुपर्छ । र त्यो सामर्थ्य हामीसँग छ भन्ने विश्वास समेत छ ।’ उनले अहिले पार्टी पङ्क्तिमा अलिकति त्यो गति, उत्साह र ऊर्जा कम देखिएको बताए ।

उनले भने, ‘एक समय थियो जतिबेला पार्टीले आह्वान गर्ने बित्तिकै हजारौँ लाखौँ मान्छे सडकमा उत्रिन्थे । अहिले थोरै मान्छे जुटाउन पनि निकै मेहेनत गर्नुपर्ने स्थिति सिर्जना भएको छ, किन ? अहिले पार्टी र पार्टी कार्यकर्तामा किन शिथिलताको स्थिति बन्यो भन्ने कुरा अलिकति छलफल र चिन्ताको विषय हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us