
काठमाण्डू, २ असार– पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमा मन्त्री, मन्त्रीका आसेपासे र बिचौलियाको हालीमुहाली रहेको आरोप लगाएका छन ।
आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष ०८२–०८३ को बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद ज्वालाले यस्तो आरोप लगाएका हुन ।
मन्त्री र तिनका आसेपासे तथा बिचौलियाले बजेटमा हालीमुहाली गरेको उनले बताए । मन्त्रीका मातापिताका नाममा तथा पार्टी कार्यालय बनाउन अर्बौं बजेट बाँडिएको भन्दै उनले बजेटको आलोचना समेत गर्न भ्याए । ‘सहरी विकास मन्त्रालयको मात्रै कुरा गर्दा बजेटलाई मन्त्रीहरूले एकलौटी कब्जा गरेजस्तो देखिन्छ ।
मन्त्री र मातापिताका नाममा, पार्टी कार्यालय बनाउन अर्बौं बजेट बाँडिएको छ,’ उनले भने, ‘दुर्गम जिल्लाहरूमा स्वास्थ्यचौकी, खानेपानीजस्ता आधारभूत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहेका छन् ।’
सरकारले राष्ट्रिय योजना आयोगको निर्देशनलाई पनि धज्जी उडाएको आरोप लगाए । ‘केन्द्रमा तीन करोड रुपैयाँभन्दा माथिका योजनामा मात्र बजेट विनियोजन गर्ने भन्ने योजना आयोगको निर्देशनलाई धज्जी उडाइएको छ । बजेट छरपस्ट रुपमा वितरण गरिएको छ । बजेट बनाउँदा र वितरण गर्दा नै अनियमितताको गन्ध आएको छ ।’
उनले प्रधानमन्त्री, अर्थमन्त्री र सत्तारुढ दलका प्रभावशाली नेताको जिल्लामा बजेट थुपारिएको आरोपसमेत लगाए । ‘म अर्थमन्त्रीज्यूसँग प्रश्न गर्न चाहन्छु, के देश झापा, रुपन्देही, काठमाडौंको मात्रै हो ? के यही हो बजेटमा सुशासन ? बजेट दुरुपयोगको यो भन्दा नांगो नमूना अरु के हुन सक्छ ?’