रास्वपा नेतृत्व विहीन हुँदा उद्देश्य र गन्तव्यहीन भयोः योगेश भट्टराई

काठमाण्डु टुडे २०८२ असार १ गते १८:४५ मा प्रकाशित

काठमाण्डू, १ असार– पूर्व मन्त्री एवं एमाले सांसद योगेश भट्टराईले नेतृत्व विहीन हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी अलमलमा परेको बताएका छन । आज (आइतबार) संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले सांसद भट्टराईले यस्तो बताएका हुन ।

उनले रास्वपा एउटा उदयमान पार्टी भएको बताउँदै रास्वपालाई आफूहरूले पनि सम्मान गरेको बताए । संसद्भित्र रास्वपाको घटना भने नेतृत्वविहीन हुँदाको अवस्था रहेको बताए ।

उनले पार्टी नेतृत्वविहीन हुँदा अन्योलमा रहेको स्पष्ट भएको संसदीय घटनाक्रमले देखाएको बताएका छन । एमाले सचिव भट्टराईले भने, ‘रास्वपा एउटा उदयमान पार्टीको रूपमा आएको छ । हामीले उहाँहरूलाई सम्मान गरेका छौँ । युवा साथीहरू हुनुहुन्छ । पढेलेखेको हुनुहुन्छ । अस्तिको घटना र आजको पनि घटनाले संसद्भित्र रास्वपा नेतृत्व विहीन अवस्थामा छ ।

रास्वपा नेतृत्व विहीन छ । जब पार्टी नेतृत्व विहीन हुन्छ, त्यो अन्योलमा पर्छ । रास्वपा अहिले बादलभित्र उडिरहेको काग जस्तो छ । उद्देश्य र गन्तव्यविहीन अवस्थामा उहाँहरू अवरोधमा सामेल हुनुहुन्छ ।’ सचिव भट्टराईले सांसद पद निलम्बनपछि पार्टी प्रमुखको हैसियतले औपचारिक रूपमा कुनै पनि कार्यक्रममा भाग लिन नपाउने भए पनि पार्टीले दलको नेता वा पदबाट नहटाउने गरेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us