कर्णालीको बजेटमा माओवादी असहमत, प्रदेशसभा अनिश्चित

काठमाण्डु टुडे २०८२ असार १ गते १७:५९ मा प्रकाशित

काठमाण्डू, १ असार– कर्णाली प्रदेश सरकारले ल्याउन लागेको बजेटमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले असहमति जनाएपछि प्रदेशसभा बैठक अनिश्चित बनेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले योजना बैंकमा योजनाहरू समावेश नगरेरै बजेट ल्याउन खोजेको भन्दै बैठकमा सहभागी नहुने तयारी गरे एक नेताले जानकारी दिए ।

योजना बैंकमा समावेश योजनाहरू सार्वजनिक गर्नुपर्ने र संसद्मा मुख्यमन्त्री यामलाल कँडेलले जनाएको प्रतिबद्धताअनुसार जिल्लाबाट सिफारिस योजना पनि बजेटमा समावेश नहुँदासम्म संसद् बैठकमा उपस्थित नहुने माओवादी संसदीय दलको बैठकले निर्णय गरेको छ ।

आइतबार दिउँसो तीन बजे नै प्रदेश सभामा आगामी आर्थिक वर्ष ०८२–०८३ को वार्षिक बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । तर बजेटमा माओवादीले असन्तुष्टि देखाएपछि अझै बैठक बस्न सकेको छैन । कार्य व्यवस्था परामर्श समितिको बैठक चलिरहेको छ भने अझै सहमति जुट्न भने सकेको छैन ।

आफू कार्य व्यवस्था परामर्श समितिको बैठकमै भएको र सोही विषयमा छलफल भइरहेको माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिएका छन ।

उता सत्तारुढ एमालेले भने बजेट नआउँदै माओवादीले विरोध गर्नु उचित नभएको बताएको छ । ‘बजेट सभामा प्रस्तुत नहुँदै विरोध गर्नुको तुक छैन,’ एमालेका एक सांसदले भने, ‘बजेट सभामा प्रस्तुत नहुँदासम्म त गोप्य नै रहन्छ ।

देखाउँदै ल्याउने कुरा पनि हुँदैन ।’ बजेटमा असन्तुष्टि भए बजेट भाषण पछि पनि राख्ने सकिने उनले बताए । आज दिउँसो २ बजे बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले भने कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको वार्षिक बजेट पारित गरिसकेको छ ।

बजेट संसद्मा प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्बाट पारित भएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us