
काठमाण्डू, १ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न गरेका छन ।
प्रतिनिधि सभाको चौथो र पाचौं ठूलो दल अवरोध र विरोधमा रहँदा संसद्लाई चलाएको भनेर उनले प्रश्न गरेका हुन । साहले सभामुख घिमिरेको भूमिकामाथि प्रश्न गर्दै भने, ‘यो संसद्मा कुनै अमुक पार्टी आफ्नो सिटमा उभिए संसद् अवरोध हुने, बैठक स्थगित तर कुनै पार्टीले नै वेल घेराउ नै गर्दा पनि अवरोध नहुने यो कस्तो विभेद हो रु म जान्न चाहन्छु ।’
सभामुखले सबै दल र सबै सांसदको कुरा सुन्नुपर्ने समेत बताए । उनले भने, ‘सभामुख भनेको तटस्थ भूमिकामा हुनुपर्छ, सबैको साझा हुनुपर्छ । तर, आज सभामुखको यो व्यवहार हेर्दा आश्चर्य लागेको छ, म दुखित छु,’ साहले भने, ‘सबै सांसद बराबर हुन् । सबै दल बराबर हुन् । आज चौथो र पाँचँैं दल विरोधमा नरहँदा जुन व्यवहार भइराखेको छ, गलत भइराखेको छ ।’
प्रतिनिधि सभाको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ंको वेल घेराउ र नाराबाजी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहिष्कारकाबीच चलेको थियो । वेलमा रास्वपाका सांसदहरू नाराबाजी गरिरहेका थिए । राप्रपाले बैठक नै छाडेर हिंडिसकेको थियो ।
सांसदहरू बजेटमाथिको सामान्य छलफलमा भाग लिइरहेका छन् । यो दृश्य अमिल्दो रहेको भनेर उनले सभामुख र सत्तारुढ दलहरूको ध्यानाकर्षण गरे । आजको बैठकमा सभामुखले साहलाई बजेटमाथिको छलफलमा बोल्न समय दिएका थिए । विषय भन्दा बाहिर गएको भनेर सभामुखले बोल्दा बोल्दै साहलाई विषयलमा केन्द्रित हुन आग्रह गरे ।
त्यसक्रममा सामान्य सवाल जवाफ नै चल्न पुग्यो । सभामुखले पटक–पटक विषयमा केन्द्रित हुन भनेपछि सांसद साह बजेट जनता केन्द्रित नआएको भनेर मोडिए । तर, बजेटमाथिको छलफल प्रभावित पार्न नियतवश संसद्मा छलफलको वातावरण नबनाइएको हो कि भनेर आशंका गरे ।