
काठमाण्डू, १ असार– पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू बजेटका तमाम विषयको छलफलमा सहभागी नभएर एउटा महत्त्वपूर्ण अवसर गुमाएको दाबी गरेका छन ।
आज (आइतबार) प्रतिनिधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री महतले यस्तो बताएका हुन ।
डा. महतले बजेट वर्षमा एक पटक आउने र बजेटको तमाम विषय चिरफार गर्नुपर्ने समयमा आन्दोलन गरेर उक्त अवसर गुमाएको बताए । उनले कुनै पनि आधार नै नभएको विषयलाई लिएर छलफलमा भाग नलिनु जनप्रतिनिधिको हैसियतले जनतालाई नै गुमराहमा राख्नु सरह भएको आरोप समेत लगाए ।
विरोधका बिच पनि प्रमुख प्रतिपक्षी दलले सक्रिय सहभागिता जनाउनु खुसीको विषय भएको बताउँदै उनले मुलुकको वित्त व्यवस्थापनका कुराहरू बजेटले बोल्ने भएकाले तथ्यहीन विषयमा आन्दोलन गरिरहनुको कुनै औचित्य नभएको टिप्पणी गरे ।