
काठमाण्डू, १ असार– उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थतन्त्रका चुनौतीलाई सामना गर्ने गरि आगामी आर्थिक बर्षको बजेट आएको बताएका छन ।
आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै पौडेलले यस्तो बताएका हुन । अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचकहरू सकारात्मक हुँदै गए पनि चुनौतीहरू कायमै रहेकाले त्यसका सामना गर्नेगर सरकारले बजेट ल्याएको बताएका हुन् ।
प्रस्तुत बजेटको कार्यान्वयनबाट आर्थिक गतिविधि विस्तार हुने, निजी क्षेत्रको लगानी अभिवृद्धि हुने, रोजगार सिर्जना हुने र पूर्वाधार आयोजनाहरू निर्धारित समयमा नै सम्पन्न हुने उनको दाबी छ ।
पौडेलले चालू पूँजीगत खर्च चालू आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरेको जानकारी दिए । अन्तर सरकारी वित्त हस्तान्तरणमा वित्त आयोगले निर्धारण गरेको सीमाभन्दा करिब ४ अर्बले वृद्धि गरिएको, आम्दानीको मुख्य स्रोत राजस्वले समग्र खर्चको करिब ६७ प्रतिशत धान्नेगरी बजेट प्रस्ताव गरिएको उनको भनाइ छ ।