
काठमाण्डू, १ असार– प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष एवं पतिनिधि सभाका सदस्य राजेन्द्र पाण्डेले भिजिट भिसा प्रकरणको छानबिन छिट्टै सुरु गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।
आज (आइतबार) बसेको प्रतिनिधि सभामा बोल्दै एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन । उनले भने, ‘गृहमन्त्रीले ३० दिनभित्र छानबिन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । भित्र भनेको हो ।
यसकारण ३ दिनभित्रै गरियोस् ।’ सरकार भिजिट भिसामा छानबिन गर्न तयार भएपछि सदन खोल्न सहमत भएको पनि उनको प्रष्टीकरण छ । ‘प्रतिपक्षी दलहरूमध्ये एउटा दल नाराबाजीमा छ’ उनले स्मरण गरे ।
उनी अगाडि भन्छन्, ‘भिजिट भिसा प्रकरणको माध्यमबाट मानव तस्करी भयो । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन मुछियो भनेर हामी पनि ३० गतेसम्म संसद्मा अवराधकै अवस्था बन्यो । छानबिनका लागि सरकार तयार भएपछि सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएको छ ।’