बजेटले अनुमान गरेजस्तो आम्दानी हुने अवस्था छैनः पूर्व अर्थमन्त्री महत

काठमाण्डु टुडे २०८२ असार १ गते १५:४२ मा प्रकाशित

काठमाण्डू, १ असार– पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटले अनुमान गरेको जस्तो आम्दानी हुन नसक्ने दाबी गरेका छन ।

आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा ‘आर्थिक वर्ष ०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल’मा भाग लिँदै पूर्व अर्थमन्त्री महतले यस्तो बताएका हुन ।

अन्तर्राष्ट्रिय अनुदान आफूहरूले प्रस्ताव गरेअनुसार अनुदान आउने अवस्था नरहेको र वैदेशिक ऋण पनि सोही हिसाबले कार्यान्वयन हुने अवस्था नरहेको उनले बताए । पूर्व अर्थमन्त्री महतले भने, ‘यो बजेटले जुन आम्दानीको अनुमान गरेको छ, त्यो आम्दानी चाहेजस्तो हुने अवस्था छैन ।

विदेशी अनुदान, अन्तर्राष्ट्रिय अनुदान हामीले प्रस्ताव गरेअनुसार अनुदान आउने अवस्था छैन, ‘वैदेशिक ऋण पनि त्यही हिसाबले कार्यान्वयन हुने अवस्था छैन । र राजस्वको जुन लक्ष्य राखिएको छ, पहिले भन्दा घटाइएको छ । तै पनि, यो लक्ष्यलाई प्राप्त गर्न धेरै मिहिनेत गर्नुपर्नेछ ।’ डा. महतले बजेटमा उल्लेख गरिएको आम्दानीको स्रोत जुटाउन गाह्रो हुनेमा दुई मत नरहेको स्पष्ट पारे ।

‘बजेटले जुन आम्दानीको स्रोत देखाएको छ, त्यो अनुसार आम्दानी नजुट्ने र त्यो आय ऋणबाट होस्, अनुदानबाट होस् या राजश्वबाट प्राप्त हुने जुन विनियोजन छ, त्यो किसिमको आय नहुने हुनाले विनियोजनमा पनि अवश्य समस्या हुने कुरामा दुई मत छैन,’ महतले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us