बागमतीमा बजेटको आकारबारे विवाद, अर्थमन्त्री र सचिव सम्पर्कविहीन

काठमाण्डु टुडे २०८२ असार १ गते १५:२६ मा प्रकाशित

काठमाण्डू, १ असार– बागमती प्रदेश सरकारमा आगामी आर्थिक बर्षको बजेटको आकारका विषयमा सत्ता साझेदार दलबीच नै विवाद भएको खुलेको छ । दलगत विवादको चेपुवामा परेपछि आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले र अर्थ मन्त्रालयका सचिव कृष्णप्रसाद मैनाली सम्पर्कविहीन भएको नेताहरूले आरो लगाएका छन ।

यही विवादका कारण आज दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने भनिएकोमा साँझ ७ बजेका लागि स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार कांग्रेस र एमालेबीच बजेटको आकार ६८ अर्बभन्दा बढी नबनाउने भद्र समझदारी बनेको थियो ।

प्रभावशाली मन्त्रीहरुको दबाबमा ७२ अर्ब पुर्‍याउने तयारी भएपछि विवाद बढेको हो । बजेटलाई अन्तिम रुप दिन व्यस्त रहेका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले र सचिव मैनालीलाई कार्यकक्षमै गएर बजेट बढाउन दबाब दिएको स्रोतले जानकारी दिएको छ ।

मन्त्री काफ्ले निकट स्रोतले भन्यो, ‘उहाँहरू दुवैजनाको खोजी भइरहेको छ । क्वार्टरमा पुग्दा पनि नभेटिएको खबर छ ।’ एमाले बागमती प्रदेश संसदीय दलका नेता तथा पूर्वअर्थमन्त्री जगन्नाथ थपलियाले ६८ अर्बभन्दा बढी बजेट बढाउन नपाइने गरी कांग्रेससँग सहमति भएको बताए । ‘६८ अर्ब भन्दा बढाउन नपाइने सहमति भएको छ ।

अब कतिको बजेट ल्याउन लागेको हो, पहिला हेरौं । त्यसपछि थप कुरा हुन्छ,’ थपलियाले भने । एमालेबाट सरकारको नेतृत्व गरेका कृषि तथा पशुपंछी विकास मन्त्री प्रकाश श्रेष्ठले ६८ अर्ब भन्दा बढी बजेट बनाउन नपाइने स्पष्टसँग बताए ।

आर्थिक मामिला मन्त्रालयले आज बिहान ५ बजेसम्म लगाएर बजेट बनाएको सरकारका एक मन्त्रीले जानकारी दिए । ‘हामीलाई बजेट इन्ट्री गर्न हिजो (शनिबार) १५ मिनेट दिइएन । उनीहरू ५ बजेसम्म बजेट बनाएर बसेको थाहा पाएँ । मन्त्रिपरिषद्‌मा बजेट कसरी आउँछ हामी हेर्छौं,’ ती मन्त्रीले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us