दुर्गा प्रसाईंले मिडिया हाउस जलाउनुपर्छ भन्दै पठाएको म्यासेज भेटियो

काठमाण्डु टुडे २०८२ असार १ गते १५:२१ मा प्रकाशित

काठमाण्डू, १ असार– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको आराजक र हिशांत्मक प्रदर्शनको जनकमाण्ड गरेका जनकमाण्डर एवं विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मिडिया हाउस सहित विभिन्न ठाउँमा आगो लगाउनुपर्छ भन्दै आफ्ना समर्थकलाई म्यासेज पठाएको पाइएको छ ।

तिनकुनेको हिंसात्मक घटना गराएको आरोपमा पक्राउ परेका व्यक्तिहरुबाट बरामद भएका मोबाइल जाँच गर्ने क्रममा प्रसाईंले ‘आगो लगाउनुपर्छ’ भन्दै म्यासेज पठाएको भेटिएको अनुसन्धानमा संलग्न एक अधिकृतले जानकारी दिएका छन । मोबाइल जाँचका लागि ‘डिजिटल फरेन्सिक ल्याब (डीएफएल)’मा पठाइएको थियो ।

डीएफएल जाँचका क्रममा प्रसाईंले भिडलाई हिंसात्मक बनाउन उक्साउने गरी म्यासेज गरेको भेटिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । ‘सरकारलाई अब आगो लगाउनुपर्छ । अब चाहिँ सबै जिल्लाहरुमा यस्तै गर्नुपर्छ । ठाउँ–ठाउँमा आगो लगाउने हो अब । ‘। मिडिया पनि जलाउनुपर्छ,’ प्रसाईंले पठाएको म्यासेजमा लेखिएको छ ।

चैत १५ मा तिनकुनेमा प्रहरीसँग झडप भएपछि राजावादीहरुले घर, पार्टी कार्यालय, सवारी साधन र जडिबुटीमा सन्चो औषधी उत्पादन हुने उद्योग लगायतमा आगजनी गरेका थिए । साथै कान्तिपुर र अन्नपूर्ण पोष्टका कार्यालयमा ढुंगा प्रहार भएको थियो ।

आगो लगाउने र मिडिया हाउस केन्द्रित आक्रमण गर्न आह्वान गर्दै म्यासेज पठाएको भेटिएपछि यसैलाई मुख्य प्रमाण मानेर अदालतले प्रसाईंलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको देखिन्छ । बिहीबार राति साढे १२ बजे काठमाण्डू जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहित ७ जना प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

त्यसपछि प्रसाईं अहिले डिल्लीबजार कारागार चलान भएका छन् । झापाको बिर्तामोड नगरपालिका–५ का ५४ वर्षीय विवादास्पद व्यक्ति प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजक हुन् । उनकै नेतृत्वमा यो महाअभियान काम गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us