सभामुखले सुनेनन् विपक्षीको आग्रह

काठमाण्डु टुडे २०८२ असार १ गते १४:३७ मा प्रकाशित

काठमाण्डू, १ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरे प्रतिपक्षी दलहरु राप्रपा र रास्वपालाई पेलेरै अघि बढेका छन । नाराबाजीकाबीच प्रतिनिधिसभाको बैठक नलाउन प्रतिपक्षी दलहरूले गरेको आग्रह नसुनी सभामुख देवराज घिमिरे अगाडि बढेका छन् ।

प्रतिपक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वेल घेराउ र नाराबाजी गरिरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आसनमा उभिएर विरोध गरिरहेको छ । यस्तो अवस्थामा प्रतिनिधिसभाको बैठक अगाडि नबढाउन संसदबाटै नेकपा एकीकृत समाजवादी र राप्रपाले सभामुख घिमिरेलाई आग्रह गरे । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र एकीकृत समाजवादीका बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रतिनिधिसभाको बैठक रोकेर सहमतिको लागि पहल लिन आग्रह गरेका थिए ।

तर, सभामुखले मानेनन् । सभामुखले समय दिएपछि बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रश्न गरे, ‘सभामुखज्यु मैले राख्नुपर्ने केही पनि छैन । संसद्‌मा आन्दोलन भइरहँदा यसरी संसद चलाउनु के उचित हुन्छ ?’ संसद्‌मा विरोधका रहेका सांसदहरू जनताले जिताएका जनप्रतिनिधि भएकाले समान व्यवहार हुनुपर्ने उनले बताए ।

अन्यथा, विरोधका बीच संसद् चलाउनु दादागिरी हुने उनको आग्रह छ । ‘यसरी संसद् चलाउनु भयो संसदीय अभ्यास होइन । यो दादागिरी हो, दादागिरी बन्द गर्नुस्’ प्रमुख सचेतक शाहीले भने । तर, सभामुखले शाहीको आग्रह मानेनन् । प्रतिनिधिसभामा आकस्मिक समय चलाएर सभालाई कार्यसूचीमा अगाडि बढाए । यस्तो अवस्थामा प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले आकस्मिक समय चलाए । त्यसपछि राष्ट्रिय सभाबाट पारित भएर पुगेको विधेयकको सन्देश सुनाए ।

आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई प्रस्तुत गर्न समय दिए । त्यसपछि एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले संसद्को बैठक नै स्थगित गर्न आग्रह गरे । अर्थमन्त्री पौडेलले रोष्ट्रममा पुगेर आफ्ना कुरा राख्न थालेपछि एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष पाण्डेले सभामुखसँग समय मागे ।

फेरि पनि प्रतिपक्षी दलले गरेको आग्रह सभामुखले सुनेनन् । अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गरिसकेपछि सांसदहरूलाई त्यसमाथि धारणा राख्न समय दिए । हाल प्रतिनिधिसभामा विरोधका रहेको दल नाराबाजी गरिरहेको छ भने विरोधमा नरहेका दल आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राखिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us