बन्दमा मनपरी भाडा

काठमाण्डु टुडे २०८२ जेठ १९ गते १२:१८ मा प्रकाशित

काठमाण्डू, १९ जेठ– आजबाट यातायात व्यवसायीले सार्वजनिक सवारी बन्द गरेको मौकामा राइड सेयरिङ सञ्चालकहरुले मनपरी भाडा असुल्न सुरु गरेका छन । ट्राफिक प्रहरीले मनपरी भाडा असुल्नेहरुमाथि निगरानी बढाइएको बताए पनि यो समाचार तयार पार्दासम्म कसैमाथि कारबाही भएको जानकारी छैन ।

काठमाण्डूमा सञ्चालित एउटा राइडसेयरिङ एपमा आज बिहान करिब नौ बजेतिर नेपालटारबाट देशको प्रशासनिक केन्द्र सिंहदरबार सम्म पुग्ने पुग्ने मोटरसाइकलको भाडा ४८० रुपैयाँ देखिन्थ्यो । यस अधि उक्त राइडसेयरिङ एपमा २१० सम्म भाडा देखाउनेमा आज भने ४८० देखाएको यात्रुको गुनासो छ । सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले कालो नम्बर प्लेटका सार्वजनिक सवारी साधन नचलाउने निर्णय गरेको छ ।

सार्वजनिक गाडी चढ्न नपाएपछि यात्रीहरु पठाओ, इनड्राइभ, इड्राइभ, ट्याक्सीमाण्डु जस्ता राइड सेयरिङ एपमार्फत् सेवा लिन बाध्य छन् । त्यही मौका छोपेर कतिपय राइडरहरुले महँगो भाडा असुलेको यात्रीहरुको गुनासो छ ।

यसबाट अत्यावश्यक कामले यात्रा गर्नुपर्ने सर्वसाधारणहरु मर्कामा परेका छन् । यस्तै सिनामंगलबाट अनामनगरसम्म आउनका लागि राइड सेयरिङ एप प्रयोग गर्न खोजेका एक यात्रुले भने, ‘हिजो अस्तीसम्म १५० रुपैयाँसम्म देखाउने गरेकोमा आज ३–४ सयभन्दा घटी देखाउँदैन ।’

काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले मनपरी भाडा असुल्नेहरुमाथि निगरानी बढाइएको बताए । ‘हामीले स्थलगत अनुगमनका लागि टोली परिचालन गरेका छौं । कसैले बढी भाडा लिएको पाइए कारबाही गर्छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us