
काठमाण्डू, १९ जेठ– उत्तर छिमेकी चीनले नेपालमा बाम एकता गराउन चाहेको छ ।
साताव्यापी चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई चीनले वाम एकताको पहल लिन भनेको हो । भण्डारी एमाले प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गत १० जेठम चीन उडेकी थिइन् ।
चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ चियानछाओसँग शनिबार भण्डारीले बेइजिङमा भेटवार्ता गरिन् ।
त्यस क्रममा लिउले राजनीतिक स्थायित्व र विकासका लागि नेपालका कम्युनिष्टहरु एकताबद्ध होउन् भन्ने आफूहरुको चाहना रहेको बताए ।
यसअघि चीन गएका माओवादी केन्द्रका नेता दीनानाथ शर्मालाई पनि चिनियाँ नेताहरुले सोही सुझाव दिएका थिए ।
भ्रमण दलमा सहभागी एक एमाले नेताका अनुसार राष्ट्रपति भण्डारीसँगको भेटमा नेता लिउले बेल्ट एण्ड रोड इनिसियटिभ –बीआरआई) सम्झौता छिटो गर्न ताकेता गरेका छन् ।
टोलीमा सहभागी एमाले नेता कर्ण थापाका अनुसार जवाफमा भण्डारीले आफू राष्ट्रपति भएका बेला दुई देशबीच बीआरआई सम्झौतामा हस्ताक्षर भएको स्मरण गर्दै उक्त सम्झौता कार्यान्यवन छिटो हुनुपर्नेमा जोड दिएकी थिइन् ।