कमल थापा भन्छन्ः प्रहरीले मलाई पटकपटक बुटले हिर्काए
काठमाण्डु टुडे
२०८२ जेठ १९ गते ५:२३ मा प्रकाशित

काठमाण्डू, १९ जेठ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रहरीले आफूमाथि पटकपटक लात्तीले हिर्काएको बताएका छन् ।
निषेधित क्षेत्र तोडेपछि आइतबार थापालाई प्रहरीले नारायणचौर क्षेत्रबाट पक्राउ गरेको थियो । तर, राति अबेर उनी काठमाण्डू प्रहरी परिसरको हिरासतबाट मुक्त भए ।
लगत्तै राप्रपा कार्यालय धुम्बाराही पुगेका थापाले सञ्चारकर्मीसँग कुरा गर्दै प्रहरीले आफूलाई पटकपटक खुट्टा र घुँडामा जुत्ताले हिर्काएको बताए । उनले आफूलाई हिर्काइएको बताएपछि कठालो समातेर लडाइएकोे उल्लेख गरे ।
‘मैले अघि बढ्न खोज्दा परिस्थितिलाई संयमित बनाएर लैजाने प्रयास गर्दा एकजना प्रहरी जवानले पटकपटक मेरो खुट्टामा, घुँडामा बुटले हिर्काए,’ थापाले भने, ‘त्यसपछि मैले अघि बढ्न खोज्दा र सम्बन्धित प्रहरीलाई उसले मलाई खुट्टामा हान्यो भनेर कराउँदा अचानक मेरो कठालोमा समातेर लडाइयो ।’
पक्राउ गर्ने क्रममा आफूलाई केही समय सडकमा घिसारिएको पनि उनको भनाइ थियो ।
थापाले सरकारी दमन बढ्दै जाँदा आफूहरूको आन्दोलनले पनि उचाई लिने दाबी गरे । थापाले सरकारलेआन्दोलनमाथि दमन बर्बरतापूर्वक र अमानवीय ढंगबाट दमन गरेको र आफूलाई अभद्र व्यवहार गर्ने, लछारपछार गर्ने गरेको बताए ।