आन्तरिक विवादपछि राजावादीद्वारा उपत्यका बन्दको कार्यक्रम फिर्ता

काठमाण्डु टुडे २०८२ जेठ १९ गते ६:०३ मा प्रकाशित

 

काठमाण्डू, १९ जेठ–आन्दोलनरत राजावादीहरुले आजका लागि घोषित उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएका छन् ।

‘राजतन्त्र पुनस्र्थापनाका लागि गठित’ संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले आइतबार विज्ञप्ति गरेर आज उपत्यका बन्दको उपत्यका बन्दको घोषणा गरेका थिए ।
आइतबार आन्दोलनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ७ जना रिहा भइसकेकाले बन्द फिर्ता लिइएको समितिले जनाएको छ ।

बन्दको विषयलाई लिएर राजावादी समूहभित्रै विवाद भएको थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गएराति सामाजिक सञ्जाल फेसबुकमार्फत बन्दमा आफ्नो दल सहभागी नहुने घोषणा गरेका थिए ।

‘सामान्यतया राप्रपा बन्द हडताल जस्तो अलोकप्रिय कार्यक्रमको विपक्षमा छ । आज सरकार तर्फबाट पक्राउ परेका नेता कार्यकर्ताहरूको रिहाइको विशेष सन्दर्भमा उपत्यका बन्दको प्रसंग उठेको भए पनि पक्राउ परेका नेता कार्यकर्ताहरू रिहा भइसक्नुभएको हुँदा भोलि  हुने भनिएको उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने जानकारी गराउँछु’, उनले लेखेका छन् ।

निषेधित क्षेत्र तोड्ने क्रममा आइतबार प्रहरीले नारायणचौर क्षेत्रबाट राप्रपा नेपालका अध्यक्ष थापासहित ८ जनालाई नियन्त्रणमा लिएको थियो ।

थापासहित ७ जना आइतबारै रिहा भएका छन् ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us